बेसार खेतीबाट लाखौ आम्दानीगर्दै बन्यजन्तु पीडित
हरि गुरुङ, मधुवन (बर्दिया), ६ मंसिर २०८० । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्रका किसानहरु वर्षौ देखि निकुञ्जबाट आउने जंगली जनावरबाट पिडीत छन् । उनीहरुले लगाएको अन्नवाली धान, मकै, गहुँ भित्र्याउन पाउदैनन् । बाली स्याहार्ने वेला जंगली जनावरले खाएर कुल्चेर नोक्सान गर्दछन । पछिल्लो समय ति किसानहरु वैकल्पीक खेतीको रुपमा वेसार खेतीतर्फ आकर्षित भएका छन् ।
वेसार खेतीलाई जंगली जनावरले क्षती नपु¥याउने भएकाले किसानहरु वेसार खेतीतर्फ आकर्षित भएका हुन । अन्नवालीको उत्पादन लिन नसकेका किसानहरुले वेसार खेतीवाट राम्रो आम्दानी गर्न थालेका छन । उनिहरुलाई आफ्नो समस्या टार्न सहज भएको छ । जंगली जनावरले धान, मकै, गहुँ लगायतका अन्नबाली नोक्सान पारीदिंदा परम्परागत तवरले खेतीगर्दै आएका किसानहरुले विकल्पका रुपमा बेसार खेती तर्फ आकर्षित भएका हुन । वर्ष भरी गरेको मेहनतको फसल छिनभरमै जंगली जनावरले खाई दिनाले पिडित बनेका किसान पछिल्लो समय वेसार खेतीबाट राम्रो आम्दानी गरेर घरपरिवारको समस्या टार्न थालेको स्थानीय किसान नर बहादुर सुनारले चुरेकुञ्जलाई बताउनु भयो ।
जंगली जनावरवाट आजिद भएका किसानहरुले ३ वर्ष देखी विकल्पका रुपमा बेसार खेती गरिरहेका छन् । उनीहरुले सोचेभन्दा राम्रो प्रतिफल पाएका छन । शुरुका वर्ष दलित सेवा संघ नामक गैर सरकारी संस्थाले किसानहरुलाई निःशुल्क रुपमा बेसारको विउ तथा तालिम उपलब्ध गराएको थियो । यस वर्ष भने प्रति किलो २५ रुपैयामा स्थानिय विउ किनेर ४० विगाह भन्दा बढी क्षेत्रफलमा बेसार खेती गर्ने योजना रहेको छ भने हाल २५ विगाहा बेसार खेती गर्दै आइरहेका छन । किसानहरुले उत्पादन गरेको बेसार प्रतिकिलो २ सय ५० रुपैयामा बिक्री गर्छन ।
पछिल्लो समय मधुवन नगरपालिकाले पनि यस क्षेत्रलाई बेसार पकेटक्षेत्र घोषणा गरी बेसार खेतीलाई प्रोत्साहन गर्ने प्रयास थालेको छ । किसानहरुले पनि कृषक समुह गठन गरी बेसार खेतीलाई ब्यावसायिकता प्रदान गर्ने सोच बनाएका छन् । तर बजारीकरणको समस्याले पिरोली रहेको स्थानीय किसान नयाराम सुनार बताउनुहुन्छ । बेसार खेती गर्दा लगानी कम लाग्ने र प्रति कठ्ठा पाँच क्वीन्टल सम्म सजिलै फलाउन सकिन्छ । बर्दियामा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका किसानका लागी यो खेती अत्यन्त उपयुक्त हुने कृषी प्राविधिक एकराज वली बताउनुहुन्छ । बर्दिया जिल्लालाई बढी बेसार उत्पादन गर्ने जिल्लाका रुपमा विकास गर्न सकिने प्राविधिक वलीको भनाई छ ।
२५ विगाह जमिनमा हुँदै आएको बेसार खेतीबाट यहाँका कृषकले वार्षिक लाखौं आम्दानी गरिरहेका छन् । प्राय जंगली जनावरले बेसार खेतीलाई नोक्सानी नगर्ने भएकोले किसानहरु बेसार खेतीतर्फ आर्कषित भएका हुन । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ति क्षेत्रका किसानहरु कम लगानीमै व्यवसायिक तरिकाले अघि बढ्न चाहन्छन । तर यस्का लागी बजारीकरणमा भने केही जटिलता देखिएको उनीहरुको गुनासो छ । बेसार उत्पादन, प्रशोधन, लेबलिङ्ग लगायतका कार्य स्थानिय स्तरमै गर्न सकेपनि उचित बजारीकरण गर्न स्थानिय सरकारले सहयोगी संस्थाहरुसंग समन्वयगर्दै आएको मधुवन नगरपालिका वडा नं–१ का वडा अध्यक्ष मीन बहादुर थापाले बताउनु भएको छ ।
२३ °C काठमाडौं
Facebook Comments