सुरक्षित पिउने पानीको लागि बायोस्याण्ड फिल्टर
मुरली गोडिया, गुलरिया (बर्दिया) । बायोस्याण्ड फिल्टर उद्यमी संगठन नेपालको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुरक्षित पानी स्वस्थ जिन्दगानी भन्ने मुल नारासहित बायोस्याण्डको स्वाच्छ पानी पिउन प्रेरितगर्दै आइरहेको संगठनले केन्द्रिय समितीको १० औं वार्षिक साधारण सभा बर्दियाको गुलरियामा सम्पन्न गरेको हो ।
कार्यक्रममा संगठनको प्रतिवेदन केन्द्रिय अध्यक्ष ईश्वर प्रसाद दहालले गर्नु भएको थियो । बायोस्याण्ड फिल्टर उद्यमी संगठनले आर्थिक वर्ष ०७९÷८० मा कन्काई बायोस्याण्ड फिल्टर उद्योग झापाले ६ हजार ५९ र कृतज्ञराज बायोस्याण्ड फिल्टर उद्योग, बर्दियाले ३ हजार ८ सय २३ गरि जम्मा ९ हजार ८ सय ८२ वटा डिफ्युजर बक्स विक्रि वितरण गरेका छन् । फिल्टरबाट वार्षिक रुपमा ४९ हजार ४ सय १० परिवार संख्या लाभान्वित भएको प्रतिवेदनले देखाएको छ । संगठनमा सदस्यता समाप्तीको लागी स्पष्टिकरण नदिने उद्यमीहरुको हकमा देशभर गरि १५ जना उद्यमीको सदस्यता समेत खारेज गरेको अध्यक्ष दहालले बताउनु भयो । संस्थाका कोषाध्यक्ष ज्ञान प्रसाद यादवले आर्थिक वर्ष ०८०÷८१ को लागी अनुमानित ३० लाख १७ हजार ४ सय ३४ रुपैया बराबारको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथी तथा गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमले बायोस्याण्ड फिल्टर उद्यमीले नागरिकको जिवनमा अतिआवश्यक रहेको पानीको स्वच्छताका क्षेत्रमा ध्यान दिई कार्यगर्न आग्रह गर्नुभयो । उद्यमीहरुले आफनो कार्य विवरण बारे स्थानिय पालिकामा समेत समन्वय गरि नागरिकको आवश्यकता र जनचेतनाका क्षेत्रमा समेत कार्यगर्न आवश्यक रहेको बताउनु भयो । साधारणसभा कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्लले बायोस्याण्ड फिल्टर उद्यमीले फिल्टर बेचपछि कति समय पछि उक्त फिल्टरको मर्मत वा पानीकोे मात्रा लगायतका प्राविधीक विषयमा समेत उपभोक्तालाई जानकारी गराउन सुझाव दिनुभयो ।
फिल्टरले कुन स्तरको पानी दिने गरेको वा कहिले कुन सामानहरु फेर्नुपर्ने ज्ञान नभएकोले सचेतना तर्फको पाटोमा समेत ध्यान दिन उहाँको सुझाव छ । शुभकामना मन्तब्य दिंदै वडा नम्बर ६ का वडा अध्यक्ष शुधांशु प्रकाश शर्माले धेरै नागरिकलाई फिल्टरको पानीको महत्व बारे जानकारी नभएको बताउनु भयो । नागरिक स्तरमा यसको महत्व तथा प्रयोगबारे वडा स्तरबाट नगरस्तर सम्ममा समेत जागरण आवश्यकता रहेको उल्लेखगर्दै आफुले अबदेखी फिल्टरको पानी मात्र प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । संगठनका अध्यक्ष इश्वर प्रसाद दहालको सभापतित्वमा भएको साधारण सभाको प्रमुख आतिथी गौतमले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पुर्व मेची देखी पश्चिम सम्मका बायोस्याण्ड फिल्टरका उद्यमीहरुको सहभागिता थियो । कार्यक्रममा संंगठनका उपाध्यक्ष खम्ब प्रसाद घर्तिले स्वागत मन्तब्य राख्नु भएको थियो ।
२३ °C काठमाडौं
Facebook Comments