• २९ जेठ २०८३, शुक्रवार
  • २५ °C काठमाडौं
पत्रकार साथी राकेश बस्यालप्रति हार्दिक श्रद्धासुमन

राजेन्द्र प्रसाद धिताल, ३२ असार, बर्दिया । नियतिको नीति सरल हुने रहेनछ । त्यो कहिलेकाही क्रूर र निर्मम हुदोरहेछ । मान्छे लामो समय सहयात्रा र सङ्गतमा रहेको साथी सदाका लागि विदा हुँदा गहिरो पीडा बोध भइरहेको छ । उहाँसँग जोडिएका अनेकौ स्मृतिहरु मानसपटलमा एकनास दौडिरहेका छन् । साथी राकेशको उज्यालो व्यक्तित्व हरदम आँखा अगाडि आइरहन्छ ।

२०५५ सालमा म गुलरियामा आउँदा राकेश बस्याल बर्दियामा पत्रकारिता क्षेत्रमा चर्चित हुनुहुन्थ्यो । गुलरिया आउनु अगाडि म अध्ययनको क्रममा नेपालगन्जमा थिए । नेपालगन्जमै पनि राकेश जीको चर्चा थियो । पत्रकारिता बाहेक राजनीतिमा पनि उहाँको उचाइ थियो । २०४६ सालको जन आन्दोलनमा उनको सक्रिय सहभागिता, उहाँको घरबाट जनआन्दोलनको क्रममा निकालिएको जुलुसको प्रसङ्ग सर्वत्र चर्चाको विषय बनेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिन सक्रिय एउटा बौद्धिक कलमकर्मीको रूपमा उहाँको व्यक्तित्व आकर्षक बनेको थियो । प्रजातान्त्रिक आन्दोलनका  सक्रिय अभियन्ता एवम् बौद्धिक व्यक्तित्व श्री गणेशराज पोखरेलसँगको सहलेखनमा नयाँ मुलुकमा प्रजातान्त्रिक आन्दोलन नामक ऐतिहासिक कृतिको प्रकाशन गरेर उहाँले यस क्षेत्रमा एउटा लेखकको छवि समेत निर्माण गरिसक्नु भएको थियो । 

गुलरिया आएपछि मेरो राकेश जीसग मित्रता सुरु भयो । विक्रम सम्बत् २०५५÷५६ सालतिर  गुलरियामा वासु चौधरी सम्पादक र युवराज श्रेष्ठ प्रकाशक रहेको नयाँ मुलुक साप्ताहिक अखबार निस्कन्थ्यो । त्यस पत्रिकामा राकेश बस्यालको मुक्त कलम नामको स्तम्भ थियो । स्थानीय पत्रिका नयाँ मुलुक बर्दियामा असाध्यै लोकप्रिय थियो साथै मुक्त कलम स्तम्भ पनि पत्रिकाको बौद्धिक सम्पत्तिको रूपमा स्थापित थियो । त्यतिबेला हामीले बर्दियामा कृष्णसार साप्ताहिक प्रकाशित गरेका थियौं । यसै बीच २०५९ सालतिर राकेश जी नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाको सभापति निर्वाचित हुनुभयो । उहाँको कार्यकाल बर्दियाका पत्रकारहरुका लागि आशा र उत्साहको समय थियो । सरल स्वभाव  र स्थापित व्यक्तित्व भएका कारण महासङ्घका कार्यक्रमहरु ओज पूर्ण र उपलब्धि मूलक हुने गर्दथे । 

राजनीति, प्रहरी प्रशासन, राष्ट्रिय निकुञ्ज लगायतका समाचारसँग सरोकार राख्ने क्षेत्रहरुमा पत्रकारको सहज पहुँचका लागि उहाँले संयोजनकारी भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको संयोजनमा धेरै कार्यक्रमहरुमा सहभागी भएको मिठो अनुभूति स्मृतिमा अहिलेसम्म पनि जीवन्त छ । विशेष गरेर बर्दियाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, बर्दियामा आउने राष्ट्रिय राजनीतिमा पहुँच राख्ने व्यक्ति, सत्ताको महत्त्वपूर्ण पदमा पदासिन पदाधिकारीसग नेपाल पत्रकार महासङ्घको व्यानरमा एक आपस कार्यक्रमको आयोजना गर्ने सुन्दर परिपाटी उहाँले बसाल्नु भएको थियो । वास्तवमा उहाँको कार्यकालमा नेपाल पत्रकार महासङ्घ समसामयिक विषययमा छलफल र चिन्तन गर्ने भरपर्दो चौतारीका रूपमा स्थापित थियो ।
२०६२ सालमा उहाँ नेपाल पत्रकार महासङ्घको तत्कालीन मध्यपश्चिमका क्षेत्रबाट प्रतिनिधित्व गर्दै केन्द्रीय उप सभापति बन्नुभयो । केन्द्रीय नेतृत्वमा रहेर उहाँले अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, कानूनी शासनको पक्षमा सक्रियता पूर्वक आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुभयो । २०६२÷६३ को आन्दोलनमा नेपाल पत्रकार महासङ्घको नेतृत्वदायी भूमिका थियो । निरङ्कुश सत्ताले प्रेसमाथि दमन गर्ने, पत्रकारहरुलाई फुटाउने, विभिन्न प्रलोभन दिएर राजावादी पत्रकारको जमात तयार गर्ने रणनीति अख्तियार गरेको थियो । राकेश जी लोकतन्त्रप्रतिको निष्ठा र नेपाल पत्रकार महासङ्घको आदर्शबाट कहिल्यै विचलित हुनु भएन । यो उहाँको व्यक्तित्वको उज्यालो विशेषता हो ।

उहाँले राजधानी, अन्नपूर्ण पोष्ट्, रेडियो नेपालजस्ता लोकप्रिय र पहुँच भएका संचार माध्यममा अनुबन्धित भएर काम गर्नुभयो । बर्दियाको स्थानीय पत्रिका चुरेकुन्जको सम्पादकको हैसियतमा उहाँ विगत १३ बर्षदेखि कृयाशील हुनुहुन्थ्यो । पत्रकारितामा विशेष गरी संरक्षण क्षेत्र उहाँको अभिरुचिको क्षेत्र थियो । उहाँको यस क्षेत्रमा लामो समयदेखि व्यक्तिगत र संस्थागत रूपमा सक्रियता थियो । । पत्रकारिताको साथसाथै सामाजिक क्षेत्रमा पनि उहाँको सक्रियता थियो । बर्दियाको अगुवा सामाजिक संस्था राधाकृष्ण थारु जनसेवा केन्द्रमा उहाँको नेतृत्वदायी भूमिकामा थियो । उहाँ सहयोगी हात नेपाल नामक संस्थाको उपाध्यक्ष हुनुहुन्थ्यो । जिल्लाको क्रिकेट संघमा अध्यक्ष पदमा समेत रहनु भयो । 

उहाँ बर्दियाली साहित्य समाजका आजीवन सदस्य हुनुहुन्थ्यो । राजनैतिक रूपमा उहाँ नेपाली काङ्ग्रेसको कृयाशील सदस्य र क्षेत्रीय प्रतिनिधिको भूमिकामा रहनु भयो । विक्रम सम्बत २०२९ साल श्रावण २१ गते बर्दियाको गुलरियामा पिता÷माता स्वर्गिय चन्द्रकान्त र मन्दोदरी बस्यालको कनिष्ट सुपुत्रको रुपमा जन्मनु भएका राकेश बस्यालको मिति २०८२ असार २९ गते राति मोटरसाइकल दुर्घटनामा परी  जीवन लीला समाप्त भयो । उहाँका एक जीवन सङ्गिनी, एक छोरी र एक छोरा रहेका छन् । उहाँको असामयिक दुःखद निधनले बर्दियाको पत्रकारिता लगायत विभिन्न क्षेत्रमा अपुरणीय क्षति पुगेको छ । म यस पीडादायी क्षणमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछु ।

(धिताल बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाको उपप्राध्यापक तथा नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष हुनुहुन्छ ।)

सम्बन्धित समाचार

Facebook Comments