झुक्काएर बीमा नगर्न बीमा कम्पनीलाई प्राधिकरणको चेतावनी
दलबहादुर सुनार, मंसिर १२, बढैयाताल (बर्दिया) । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरूलाई ‘झुक्काएर बीमा’ नगर्न कडा चेतावनी दिएको छ । बर्दियाको बढैयाताल गाउँपालिकामा शुक्रबार आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्राधिकरणले बीमा कम्पनीहरूले ऐन, नियम, नीति तथा निर्देशनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयकी प्रमुख जमुना अर्यालले बीमा कम्पनीहरूले सेवा दिँदा कुनै पनि गुनासो नआओस् भन्नका लागि कानुन र निर्देशनहरूको अक्षरसः पालना गर्न अनिवार्य रहेको बताउनुभयो । उहाँले स्थानीय तहलाई पनि बीमा सम्बन्धी नीतिहरू कार्यान्वयन गर्न जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले मानव जीवन देखि कृषि, पशुपन्छी तथा सम्पत्तिको सुरक्षाका लागि बीमा अपरिहार्य रहेको बताउनु भयो । बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारूले नेपाल सरकारले बनाएको राष्ट्रिय बीमा प्राधिकरण सम्बन्धी बनेका नीतिगत व्यवस्थालाई स्थानीय तहले पूर्ण रूपमा अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक शिवराज बी.सी.ले प्रस्तुति राखेपछि सहभागीहरूले बीमा सम्बन्धी जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए । अन्तरक्रियाका क्रममा वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलले जीवन बीमा कम्पनीका अभिकर्ताबाट बीमा बारे स्पष्ट बुझाइ नदिई ‘आफ्नो फाइदाका लागि’ गरिने प्रवृत्तिले समुदायमा नकारात्मक धारणा बन्ने गरेको भन्दै प्राधिकरणले नियमनकारी भूमिकालाई अझ सशक्त बनाउनुपर्ने सुझाव राख्नुभयो । त्यसैगरी वडा नं. ५ का अध्यक्ष तुलाराम चौधरीले पशुपन्छी तथा माछामा बीमाको व्यवस्था बारे प्रश्न गर्नुभयो ।
बढैयाताल कृषि शाखाका प्रमुख दीपेन्द्र कुमार श्रीवास्तवले मौसमी तथा बेमौसमी तरकारी र खाद्यान्न बालीको बीमासम्बन्धी नीतिगत संरचना बारे जिज्ञासा राख्नु भएको थियो । सहभागीका प्रश्नहरूको जवाफ दिँदै सहायक निर्देशक बी.सी.ले कार्यक्रमबाट प्राप्त महत्वपूर्ण सुझावहरू राष्ट्रिय बीमा प्राधिकरणमा पठाइने जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा बढैयातालका जनप्रतिनिधि, बाँके–बर्दियामा क्रियाशील जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको प्राधिकरणमा कार्यरत बलराम गिरीले जानकारी दिनुभयो ।
२९ °C काठमाडौं
Facebook Comments