गेरुवा गाउँपालिकामा पूर्व सदस्य समूह गठन
मुरली गोडिया, १९ भाद्र, बर्दिया । गेरुवा गाउँपालिकामा पूर्व सदस्य समूह गठन तथा अभिमुखीकरण गरिएको छ । सुरक्षित भविष्य परियोजना अन्तर्गत पूर्व सदस्य समूह गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोग तथा बाँके युनेस्को क्लब र राधाकृष्ण थारू जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित परियोजनाको प्राविधिक सहयोगमा गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा युवा क्लब, किशोरी समूह, बाल क्लब तथा पूर्व सदस्य गरी ३८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछाने र राधाकृष्ण थारू जनसेवा केन्द्रका परियोजना संयोजक मनोज पौडेलले गर्नुभएको थियो । शाखा अधिकृत रमा पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण, मानव बेचबिखन, लैङ्गिक हिंसा, बाल संरक्षण, गुणस्तरीय शिक्षा तथा नेतृत्व विकासका विषयमा छलफल गरिएको थियो । कार्यक्रमकै क्रममा २५ सदस्यीय गेरुवा गाउँपालिका स्तरीय पूर्व सदस्य समूह गठन गरिएको छ । समूहको अध्यक्षमा अदिती थारू चयन हुनुभएको छ ।
नवगठित समूहले बालबालिका, किशोरकिशोरी तथा युवाको संरक्षण, शिक्षा र सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ । समापनमा शाखा अधिकृत रमा पुन मगरले समूहलाई गाउँपालिकाअन्तर्गत सक्रिय संरचनाका रूपमा अगाडि बढाउँदै आवश्यक सहयोग, समन्वय र क्षमता विकासमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
२५ °C काठमाडौं
Facebook Comments