श्रीकृष्ण जन्माष्टमी र गीताले दिएको संदेश
मुकुन्द अर्यालय, १९ भाद्र, बर्दिया । कृष्ण जन्माष्टमी हाम्रा लागि नयाँ पर्व होइन । प्रत्येक वर्ष आउँछ, हामी व्रत बस्छौँ, मन्दिर जान्छौँ, कृष्णको पूजा गर्छौँ, भजन सुन्छौँ र मध्यरातमा जन्मोत्सव मनाउँछौँ । बालकृष्णको प्रतिमा झुलाउँदा मनमा एउटा आत्मीयता पनि जाग्छ । तर हरेक वर्ष एउटै ढङ्गले पर्व मनाउँदै गर्दा यसपटक एउटा प्रश्नतिर फर्केर हेर्न मन लाग्छ । कृष्णलाई हामीले कति बुझेका छौ ? हामीले सम्झने कृष्ण केवल मथुराको कारागारमा जन्मिएका बालक हुन् कि उनको जीवन र शिक्षाभित्र आज पनि मानिसलाई सोच्न बाध्य पार्ने केही कुरा बाँकी छन् ?
जन्माष्टमीको दिन कृष्ण जन्मिएको कथा सम्झनु हाम्रो परम्परा हो, तर कृष्णले मानिसलाई के भन्न खोजे भन्ने कुरा सम्झनु शायद त्यो परम्पराको गहिरो अर्थ हो । कृष्णलाई बुझ्न जन्मकथामा मात्र अडिन सकिँदैन । उनको जीवन, महाभारतमा उनले खेलेको भूमिका र कुरुक्षेत्रमा अर्जुनसँग भएको संवादसम्म पुग्नुपर्छ । त्यहाँ पुगेपछि कृष्ण एउटा धार्मिक पात्रका रूपमा मात्र देखिँदैनन्, बरु मानिसको कठिन समय, उसको द्विविधा, उसको कर्म र उसको निर्णयसँग गाँसिएको एउटा गहिरो चिन्तनका रूपमा देखिन थाल्छ । कृष्णसँग भगवद्गीता कसरी जोडिन्छ भन्ने कुरा पनि यहीँबाट स्पष्ट हुन्छ । गीता कृष्णको जीवनी होइन र कृष्णले छुट्टै बसेर लेखेको पुस्तक पनि होइन ।
महाभारतको युद्ध सुरु हुन लागेको बेला कुरुक्षेत्रमा अर्जुनको मनमा उठेको द्वन्द्व र त्यसको समाधानका क्रममा कृष्णले दिएको उपदेश नै भगवद्गीता हो । अर्जुनका अगाडि आफ्नै गुरु, आफन्त र बन्धुहरू उभिएका छन् । एकातिर युद्ध गर्नुपर्ने जिम्मेवारी छ, अर्कोतिर आफ्नै मानिसप्रतिको मोह र करुणा । हातमा हतियार भएर पनि मनले साथ नदिएको त्यो अवस्था केवल एउटा योद्धाको समस्या थिएन । आफ्नो जिम्मेवारी के हो भनेर अलमलिने मानिसको अवस्था पनि त्यस्तै हुन्छ । त्यसैले अर्जुनलाई गीता बुझ्ने एउटा प्रतिनिधि पात्रका रूपमा पनि हेर्न सकिन्छ । कृष्ण त्यस अवस्थामा उनका सारथी हुन्, तर सारथीको भूमिका निर्वाह गर्दै गर्दा उनी गुरु र दार्शनिकका रूपमा पनि अगाडि आउँछन् ।
यही संवादमा कर्म के हो, कर्तव्य के हो, मानिसको मन किन डगमगाउँछ, सुख र दुःखलाई कसरी हेर्ने, आत्माको प्रकृति के हो, भक्ति र ज्ञानको अर्थ के हो तथा कठिन परिस्थितिमा निर्णय कसरी गर्ने भन्ने अनेक प्रश्नमाथि चर्चा हुन्छ । यस अर्थमा गीता एउटा युद्धको बीचमा भएको संवाद भए पनि त्यसका प्रश्न युद्धमा मात्र सीमित छैनन् । कृष्णको शिक्षाको केन्द्रमा कर्मको कुरा आउँछ । कर्मण्येवाधिकारस्य मा फलेषु कदाचनÆ भन्ने श्लोक शायद गीता पढेका अधिकांश मानिसले सुनेको हुन्छ । तर यसको अर्थ केवल फलको आशा नगर भनेर बुझ्दा कुरा अधुरो हुन्छ ।
मानिसले गरेको कामको परिणाम चाहनु स्वाभाविक हो । किसानले खेती गर्छ भने बालीको आशा गर्छ, विद्यार्थीले पढ्छ भने सफलताको चाहना राख्छ, कर्मचारीले काम गर्छ भने कामको उपलब्धि देखिन चाहन्छ । कृष्णले चाहेको कुरा परिणामप्रति उदासीन हुनु होइन, परिणामको मोहले कर्मको बाटो बिगार्न नदिनु हो । मानिसको हातमा उसको प्रयास र आचरण हुन्छ, परिणामका सबै कारण उसको हातमा हुँदैनन् । त्यसैले आफ्नो काम इमानदारीपूर्वक गर्नु र परिणाम आएपछि त्यसैका कारण आफ्नो मूल्य निर्धारण नगर्नु कर्मयोगको एउटा व्यवहारिक अर्थ हुन सक्छ । गीताकै अर्को शिक्षामा समत्वं योग उच्यते भनिएको छ । सफलता र असफलता, लाभ र हानी, जय र पराजयका बीच मनलाई सन्तुलित राख्न सक्नु नै योगको एउटा रूप हो ।
आजको जीवनमा यसको अर्थ झन् बुझ्न सकिन्छ । सफलता पाउँदा आफूलाई सबैभन्दा माथि ठान्ने र असफल हुँदा आफूलाई नै समाप्त ठान्ने दुवै प्रवृत्तिबाट मानिसलाई जोगाउने एउटा मानसिक आधार समत्व हुन सक्छ । कृष्णले मानिसको मनबारे गरेको चर्चा पनि गीताको महत्वपूर्ण पक्ष हो । उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्, आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः भन्ने श्लोकमा मानिस आफैं आफ्नो मित्र र आफैं आफ्नो शत्रु बन्न सक्ने कुरा गरिएको छ । यसको अर्थ बाहिरी संसारभन्दा मानिस भित्रको संसार कम महत्वपूर्ण छैन भन्ने हो । आज हामी आफ्नो असफलताको कारण अरूमा खोज्न सजिलो मान्छौँ ।
परिस्थिति, मानिस, व्यवस्था वा भाग्यलाई दोष दिएपछि आफूलाई हेर्नुपर्ने झन्झट कम हुन्छ । तर कृष्णको शिक्षा मानिसलाई फेरि आफ्नै मनतिर फर्काउँछ । मनमा उठ्ने इच्छा, त्यससँग गाँसिने मोह र त्यसबाट पैदा हुने क्रोधबारे गीताले गरेको अर्को चर्चा पनि यसैसँग जोडिन्छ । ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते, सङ्गात् संजायते कामः, कामात्क्रोधोऽभिजायते । कुनै विषयमा निरन्तर मन लगाउँदा त्यसप्रति आसक्ति बढ्न सक्छ, आसक्तिबाट इच्छा बलियो हुन सक्छ र इच्छा पूरा हुन नसक्दा क्रोध जन्मिन सक्छ । आज मानिसले भोग गरिरहेको असन्तुष्टि, तुलना र निरन्तर चाहनाको जीवनलाई हेर्दा यो पुरानो भनाइ अनौठो गरी परिचित लाग्छ ।
यहाँ गीतालाई आधुनिक मनोविज्ञानको पुस्तक भन्न खोजिएको होइन, तर मानिसको व्यवहारलाई बुझ्ने क्रममा त्यसले उठाएको प्रश्न आज पनि उपयोगी छ भन्न खोजिएको हो । गीतामा आत्माको प्रसङ्ग आउँदा कृष्णले अर्जुनलाई मृत्युको भयबाट बाहिर निकाल्ने प्रयास गरेका छन् । न जायते म्रियते वा कदाचित् भन्दै आत्मा न जन्मने र न मर्ने कुरा गरिएको छ । न हन्यते हन्यमाने शरीरे भन्दै शरीर नष्ट भए पनि आत्मा नष्ट नहुने धारणा प्रस्तुत गरिएको छ । यो गीता दर्शनको आध्यात्मिक पक्ष हो । यसलाई आधुनिक विज्ञानले प्रमाणित गरिसकेको तथ्य भनेर दाबी गर्नु उचित हुँदैन । आत्माको अस्तित्व, अमरत्व र पुनर्जन्मका कुरा विश्वास, दर्शन र आध्यात्मिक चिन्तनका विषय हुन् ।
तर यस शिक्षाले मानिसलाई जीवनको अस्थायित्वबारे सोच्न भने बाध्य पार्छ । पद, पैसा, घर, सम्पत्ति, प्रतिष्ठा र शरीर सबै परिवर्तनशील छन् भन्ने बोधले मानिसको अहंकारमा केही कमी ल्याउन सक्छ । आज मानिसले आफूलाई आफूले कमाएको पैसा, पाएको पद वा समाजमा बनाएको परिचयसँग मात्र जोडेर हेर्ने हो भने तीमध्ये कुनै कुरा गुम्दा आफ्नो अस्तित्व नै संकटमा परेको अनुभूति हुन सक्छ । गीताले त्यसको ठाउँमा मानिसलाई बाहिरी उपलब्धिभन्दा परको एउटा गहिरो पहिचानतिर फर्काउँछ । त्यसैले गीता वैज्ञानिक ग्रन्थ हो भन्नुभन्दा मानिस र उसको जीवनबारे गहिरा प्रश्न उठाउने दार्शनिक ग्रन्थ हो भन्नु बढी उपयुक्त देखिन्छ ।
कृष्णको अर्को महत्वपूर्ण शिक्षा धर्मसँग सम्बन्धित छ । æयदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् र त्यसपछि धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगेÆ भन्ने श्लोक आउँछन् । धार्मिक आस्थाको दृष्टिले यी श्लोकको अर्थ स्पष्ट छ । तर आजको सामाजिक जीवनमा हेर्दा धर्मलाई केवल पूजा, कर्मकाण्ड वा सम्प्रदायको सीमाभित्र राख्नुभन्दा सत्य, न्याय, कर्तव्य र उचित आचरणसँग जोडेर हेर्न सकिन्छ । कानुन भएको समाजमा पनि अन्याय हुन सक्छ, संस्था भएको ठाउँमा पनि संस्थाको दुरुपयोग हुन सक्छ र अधिकार पाएको मानिसले आफ्नो अधिकारलाई निजी स्वार्थका लागि प्रयोग गर्न सक्छ । त्यहाँ समस्या केवल नियमको अभावमा हुँदैन, मानिसको आचरणमा पनि हुन्छ । यही ठाउँमा धर्मको प्रश्न उठ्छ ।
सार्वजनिक जिम्मेवारी पाएको व्यक्तिले आफ्नो पदलाई सुविधा बनाउँछ कि जिम्मेवारी ठान्छ, शक्तिमा पुगेपछि आलोचना सुन्न सक्छ कि सक्दैन, कमजोर मानिसप्रति उसको व्यवहार कस्तो हुन्छ र आफ्नो स्वार्थ तथा सार्वजनिक हितबीच छनोट गर्नुपर्दा कुन बाटो रोज्छ । यी सबै कुरा आजको समाजमा धर्मको व्यावहारिक अर्थ खोज्ने प्रश्न बन्न सक्छन् । कृष्णको व्यक्तित्वलाई नेतृत्वको आँखाबाट हेर्दा पनि एउटा रोचक कुरा भेटिन्छ । उनी स्वयं राजा बनेर वा युद्धको अग्रपंक्तिमा उभिएर मात्र प्रभावशाली देखिएका छैनन् । कुरुक्षेत्रमा उनी अर्जुनका सारथी छन् । रथ हाँक्ने मानिसको स्थान बाहिरबाट हेर्दा सानो जस्तो देखिए पनि त्यही रथमा बसेर कृष्णले अर्जुनको मनको द्वन्द्वसँग संवाद गर्छन् ।
उनले अर्जुनलाई आफ्नो निर्णय मान्न बाध्य पार्दैनन् । बरु प्रश्नको उत्तर दिन्छन्, शंका सुन्छन्, विभिन्न कुरा बुझाउँछन् र अन्त्यमा æविमृश्यैतदशेषेण यथेच्छसि तथा कुरुÆ भन्छन, सबै कुरा विचार गर, त्यसपछि आफूलाई उचित लागेको गर । यसलाई आजको नेतृत्वसँग जोड्दा असल नेतृत्वले मानिसको विवेक खोस्नु हुँदैन, त्यसलाई बलियो बनाउनुपर्छ भन्ने कुरा निकाल्न सकिन्छ । आदेश दिएर काम गराउनु र मानिसलाई आफ्नो जिम्मेवारी आफैं बुझेर काम गर्न सक्ने बनाउनु एउटै कुरा होइन । कृष्णको सारथी रूपबाट नेतृत्वको यही अर्को अर्थ देख्न सकिन्छ ।
कृष्णको भक्ति सम्बन्धी शिक्षा पनि जन्माष्टमीको प्रसङ्गमा छुटाउन मिल्दैन । æपत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छतिÆ भन्दै कृष्णले भक्तिपूर्वक अर्पण गरिएको पात, फूल, फल वा पानी पनि स्वीकार गर्ने कुरा गर्छन् । यहाँ वस्तुको ठूलो–सानोभन्दा भावलाई महत्व दिइएको छ । यसलाई धार्मिक आस्थाको आफ्नै अर्थमा बुझ्न सकिन्छ । तर सामाजिक जीवनमा हेर्दा पनि एउटा सानो तर अर्थपूर्ण कुरा देखिन्छ । धर्म बाहिरी प्रदर्शनको मात्र विषय होइन । ठूलो पूजा, ठूलो सजावट वा ठूलो धार्मिक प्रदर्शनले मात्र मानिस धार्मिक हुँदैन । मनको भाव, आचरण र व्यवहार पनि त्यसैको हिस्सा हुन् ।
कृष्णको नाम लिने तर अरूलाई अपमान गर्ने, धर्मको कुरा गर्ने तर आफ्नो जिम्मेवारीमा बेइमानी गर्ने वा पूजा गर्ने तर शक्तिको दुरुपयोग गर्ने हो भने बाहिरी धार्मिकता र भित्री आचरणबीच दूरी बढ्छ । जन्माष्टमीले यही दूरीबारे सोच्ने अवसर पनि दिन सक्छ । अब प्रश्न उठ्छ, यी सबै कुरा वर्तमान समाजका लागि कति उपयोगी छन् ? हजारौँ वर्षअघिको युद्धभूमिमा भएको संवाद आजको मोबाइल, इन्टरनेट, प्रविधि र बदलिँदो सामाजिक संरचनाको समयमा किन पढ्ने ? यसको उत्तर शायद हाम्रो साधन बदलिएको भए पनि मानिसभित्रका धेरै समस्या नबदलिएको तथ्यमा छ । आज पनि मानिस लोभ गर्छ, क्रोध गर्छ, मोहमा पर्छ, असफलताबाट डराउँछ, सफलताबाट मातिन्छ, आफ्नो कर्तव्य र स्वार्थबीच अलमलिन्छ र कठिन निर्णयका बेला कसैको मार्गदर्शन खोज्छ ।
हिजो अर्जुनको हातमा गाण्डीव थियो, आज हाम्रो हातमा मोबाइल छÙ तर निर्णयको समस्या उस्तै हुन सक्छ । हिजो युद्धभूमिमा सम्बन्ध र कर्तव्यको द्वन्द्व थियो, आज कार्यालय, राजनीति, प्रशासन, परिवार वा सार्वजनिक जीवनमा त्यस्तै द्वन्द्व देखिन सक्छ । यसैले गीतालाई आज पढ्नु भनेको पुरानो कुरा जस्ताको तस्तै दोहोर्याउनु होइनÙ पुरानो प्रश्नलाई नयाँ परिस्थितिमा राखेर हेर्नु हो । यही ठाउँमा कृष्ण जन्माष्टमीको अर्थ अझ फराकिलो हुन्छ । कृष्ण जन्मिएको कथा मथुराको कारागार, कंसको अत्याचार र भयको वातावरणसँग जोडिएको छ । धार्मिक परम्परामा कृष्णको जन्मलाई अधर्ममाथि धर्मको विजयतर्फको एउटा निर्णायक घटना मानिन्छ । आधुनिक सामाजिक दृष्टिले हेर्दा पनि यस कथामा एउटा प्रतीक भेटिन्छ ।
अँध्यारो समयमै उज्यालोको आवश्यकता हुन्छ । अन्याय बढेको बेलामा न्यायको महत्व बढ्छ । मानिस निराश भएको बेला आशाको मूल्य बुझिन्छ । त्यसैले कृष्ण जन्माष्टमीलाई केवल विगतमा कृष्ण जन्मिएको दिनका रूपमा सम्झनु एउटा तह होÙ आफ्नो समयका अन्धकार के हुन् र तिनको बीचमा हामीले कस्तो चेतना जन्माउनुपर्छ भनेर सोच्नु अर्को तह हो । कंसलाई आज कुनै एउटै व्यक्तिसँग तुलना गर्नुपर्छ भन्ने होइन । कंस एउटा प्रवृत्तिको प्रतीकका रूपमा पनि पढ्न सकिन्छ । निरङ्कुशता, भय, शक्ति र अत्याचारको प्रवृत्ति। त्यसैगरी कृष्णलाई पनि केवल चमत्कार गर्ने देवताका रूपमा मात्र नभई अन्यायका बीच विवेक र साहसको प्रतीकका रूपमा बुझ्न सकिन्छ ।
यसरी हेर्दा जन्माष्टमीको प्रश्न पनि बदलिन्छ । कृष्ण कहाँ जन्मिए भन्ने प्रश्नभन्दा कृष्णको शिक्षा आज कहाँ आवश्यक छ भन्ने प्रश्न महत्वपूर्ण बन्न सक्छ । जब कुनै मानिसलाई आफ्नो स्वार्थ र जिम्मेवारीबीच रोज्नुपर्छ, त्यहाँ गीता सम्झन सकिन्छ । जब सफलता र असफलताले मनलाई अत्यन्तै हल्लाउँछ, त्यहाँ समत्वको कुरा सम्झन सकिन्छ । जब इच्छा र क्रोधले निर्णयलाई बिगार्न खोज्छ, त्यहाँ मनमाथि नियन्त्रणको कुरा सम्झन सकिन्छ । जब शक्ति हातमा आउँछ, त्यहाँ कर्तव्य र धर्मको कुरा सम्झन सकिन्छ । जब नेतृत्वको अवसर आउँछ, त्यहाँ कृष्णको सारथी रूप सम्झन सकिन्छ । अनि जब धार्मिक आस्था बाहिरी प्रदर्शनतिर मात्र जान थाल्छ, त्यहाँ भक्त्या प्रयच्छति भन्ने भाव सम्झन सकिन्छ ।
यस अर्थमा कृष्ण जन्माष्टमी कुनै एउटा धार्मिक समुदायको मात्र सांस्कृतिक उत्सव भएर सीमित हुनुपर्दैनÙ यसलाई मानिसको आचरण र सामाजिक जिम्मेवारीसँग जोडेर पनि बुझ्न सकिन्छ । तर कृष्णको शिक्षालाई वर्तमानमा ल्याउँदा एउटा सावधानी आवश्यक छ । गीतामा भएका सबै आध्यात्मिक धारणालाई आधुनिक विज्ञानको प्रमाण भनेर प्रस्तुत गर्नु उचित हुँदैन । आत्मा, पुनर्जन्म, ईश्वरको स्वरूपजस्ता विषय आफ्नै दार्शनिक र धार्मिक क्षेत्रमा पर्छन् । त्यस्तै गीताको युद्धभूमिको प्रसङ्गलाई आजका सबै विवादमा हिंसाको औचित्यका रूपमा प्रयोग गर्नु पनि यसको आशयलाई साँघुरो बनाउनु हो । गीता पढ्नुको अर्थ हरेक प्रश्नको उत्तर पहिले नै तय छ भनेर आँखामा पट्टी बाँध्नु होइन । बरु आफ्नो अवस्थालाई बुझेर, विवेक प्रयोग गरेर र कर्तव्य तथा परिणामको सम्बन्धलाई विचार गरेर निर्णय गर्न सिक्नु हो ।
यही कारणले कृष्णको अन्तिम आग्रह पनि विचारसँग जोडिएको छ । उनले अर्जुनलाई सबै कुरा बताएपछि निर्णयको अधिकार अर्जुनकै हातमा छोडेका छन् । यसले कृष्णको शिक्षामा संवाद र विवेकको महत्व देखाउँछ । शायद यहीँबाट कृष्ण जन्माष्टमीलाई आजको समाजका लागि अर्थपूर्ण बनाउने बाटो खुल्छ । हामी कृष्णलाई भगवान् मान्छौँ कि महान् सांस्कृतिक पात्र, त्यो आस्थाको विषय हो । कसैले उनलाई ऐतिहासिक व्यक्तित्वका रूपमा बुझ्ला, कसैले परमात्माका रूपमा । तर गीता र कृष्णसँग जोडिएका प्रश्नले आस्थाभन्दा बाहिर पनि मानिसलाई छुने ठाउँ राख्छन् ।
मानिसले आफ्नो काम कसरी गर्ने, आफ्नो मनलाई कसरी सम्हाल्ने, शक्ति पाएपछि कस्तो व्यवहार गर्ने, अन्यायका बीचमा आफ्नो जिम्मेवारी कसरी पहिचान गर्ने र सफलता तथा असफलतालाई कसरी ग्रहण गर्ने भन्ने प्रश्न कुनै एउटा युगका प्रश्न होइनन्। यही कारणले कृष्णसँग जोडिएको गीता समयको लामो दूरी पार गरेर पनि पढिइरहेको छ । यसको सबै कुरा विज्ञानले प्रमाणित गरेको छ भन्न मिल्दैन, तर मानिसको जीवनबारे यसले उठाएका प्रश्नको आयु भने निकै लामो देखिन्छ । जन्माष्टमीको रात कृष्णको जन्म सम्झँदा अन्ततः आफ्नै जीवनतिर फर्किन सकिन्छ । मथुराको कारागारमा कृष्ण जन्मिए भन्ने कथा हामीले पुस्तौँदेखि सुन्दै आएका छौँ ।
त्यस कथामाथि हाम्रो आस्था छ । तर आजको मानिसका लागि त्यस कथाको एउटा अर्को प्रश्न पनि हुन सक्छ । हाम्रो जीवनको अँध्यारो कुन हो र त्यसमा उज्यालो कहाँबाट आउने हो ? अन्याय देख्दा हामी मौन बस्छौँ कि आफ्नो ठाउँबाट केही बोल्छौँ ? जिम्मेवारी आउँदा सजिलो बाटो खोज्छौँ कि सही बाटो ? शक्ति पाउँदा आफूलाई ठूलो ठान्छौँ कि त्यसलाई जिम्मेवारी सम्झन्छौँ ? सफलतामा अरूलाई तुच्छ ठान्छौँ कि विनम्र रहन्छौँ ? असफल हुँदा सबै दोष भाग्य र अरूलाई दिन्छौँ कि आफ्नै कमजोरी पनि हेर्छौँ ? यी प्रश्नको उत्तर दिन थालेपछि शायद जन्माष्टमीको अर्थ पूजा र उत्सवभन्दा केही पर पुग्छ । कृष्णलाई सम्झने सबैभन्दा राम्रो तरिका कृष्णको मूर्ति अगाडि उभिनु मात्र होइन, कहिलेकाहीँ आफ्नै मनअगाडि उभिनु पनि हुन सक्छ ।
त्यसैले कृष्ण जन्माष्टमीलाई केवल कृष्ण जन्मिएको दिन भनेर सम्झिरहनुभन्दा आफ्नो कर्ममा निष्ठा, निर्णयमा विवेक, व्यवहारमा संयम र समाजप्रति जिम्मेवारीको चेतना फेरि जगाउने दिनका रूपमा सम्झन सकियो भने यस पर्वको अर्थ हाम्रो समयसँग पनि गाँसिन सक्छ । कृष्णको जन्मको कथा पुरानो हो, तर त्यसले उठाएको प्रश्न अझै पुरानो भएको छैन । अन्त्यमा यस लेखमा महाभारत भीष्मपर्व, भगवतगीता, श्रीमद्भगवद्गीताको अध्याय २, ४, ६, ९ र १८, गीता सुपरसाईट, ईन्डियन इन्सटिच्युट अफ टेक्नोलोजी कानपुर तथा एस राधाकृष्ण, द भागवत गीताको दार्शनिक ब्याख्या र अग्रेजी अनुवाद सन्दर्भ सामाग्रीका रुपमा प्रयोगमा ल्याएको छु । जय श्रीकृष्ण ।
२३ °C काठमाडौं
Facebook Comments